× मुख्य पृष्ठ होमपेजसमाचारबिजनेसजिवनसैलीसूचनाप्रविधिमनोरंजनखेलकुद
कोरोना बिरुद्धको खोप लगाएका जेष्ठ नागरिकको अनुभव : बाचुन्जेललाई ढुक्क लाग्यो
खोप अभियान कार्यक्रम
सुदिप अधिकारी

आइतबारदेखि देशभर सुरु भएको दोस्रो चरणको खोप अभियान कार्यक्रममा ६५ बर्ष कटेका जेष्ठ नागरिकहरुको सहभागिता उल्लेखीय देखिएको छ । देशभरका ६ हजार खोप केन्द्रबाट एकैपटक सुरु भएको अभियानमा सहभागी जेष्ठ नागकिहरुले खोप लगाउँन पाएकोमा खुसी व्यक्त गरेका छन् । यसै शन्दर्भमा झापाका खोप केन्द्रमा पुगेर खोप लगाएको जेष्ठ नागरिकहरुको खुसी पनि उस्तै छ । नेपालका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने अभियानको सुरुवात आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरियो । खोपको दोस्रो चरणअन्तर्गत मुलुकमा आईतबारबाट ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप धमाधम लगाईदैछ । यस चरणमा जेष्ठ नागरिक बाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिईदैछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाईपनि खोप दिइदैछ । यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उदेश्य छ ।

खोप केन्द्रमा भेटिएका एकजना जेष्ठ नागरिक झरेन्द्र बरालले यति छिट्टै खोप लगाउन पाईन्छ भन्ने आशा आफूले नगरेको भएपनि खोप लगाउँदा खुसी लागेको प्रतिक्रिया दिए । अर्का जेष्ठ नागरिक गणेश प्रसाद अधिकारी पनि कोरोना बिरुद्धको खोप लगाउन पाएकोमा उत्साहित थिए । उनले अब डर र त्रासबाट केहि भएपनि मुक्ती मिल्ला कि भन्ने अपेक्षा रहेको बताए । उनी भन्छन्, “जतिञ्जेल बाचिन्छ त्यतीञ्जेललाई एउटा ढुक्क चाहीँ भएको छ ।” यति छिट्टै खोप आउँला भन्ने लागेको थिएन झापा बाह्रदशीका ओमनाथ गुरागाईलाईपनि । तर, सरकारले देखाएको तदारुकतालाई धन्यबाद भन्दै उनी भन्छन्, “खोप लगाउँदा केहि होला कि भन्ने डर त्रास त्याग्नुस् र खोप लगाउन आउँनुस् ।” उनले आफूले खोप लगाए पनि आफूमा कुनै साईड ईफेक्ट नदेखिएको सुनाए । यी त केबल केहि प्रतिनिधीमुलक जेष्ठ नागरिकहरुको अनुभव हो । प्रायःजसो खोप केन्द्रहरुमा पुगेका जेष्ठ नागरिकहरुमा कोरोना बिरुद्धको खोप लगाउन पाउँदा बेग्लै उत्साह थपिएको पाईन्छ । खोप जीवनरक्षाको लागि लगाउने हो न कि समस्या उत्पन्न गर्नका लागि । यदि कोरोना महामारीको अर्काे लहर शुरू भयो वा हामीकहाँ सुषुप्त अवस्थामा रहेको कोरोना संक्रमण सर्याे भने जीवनको जोखिम हुने जेष्ठ नागरिक र दीर्घ बिरामीलाई हो ।

तसर्थ खोपको अत्यावश्यक समूह यहीनै हो । विश्वका अधिकांश देशमा जेष्ठ नागरिकले पहिलो प्राथमिकतामा खोप लगाएका छन् । डर त्रास हटाएर लक्षित बर्गलाई खोप अभियानमा सहभागी हुन सरकारले आग्रहपनि गरिरहेकै छ । त्यसैलेपनि यो खोप अभियानमा सहभागी हुन लक्षित बर्ग जागरुक हुन जरुरी छ । झापामा यस्तो छ खोप तालिका झापामा पनि ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । झापाका ६५ बर्ष उमेर समूहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । २३ गतेदेखि २७ गतेसम्म पहिलो समूहमा झापाको बुद्धशान्ति, भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, हल्दिबारी र कचनकवलका विभिन्न खोप केन्द्रमार्फत ३४ हजार ४ सय ५६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए । यसै अनुरुप खोप नियमित रुपमा चल्दै आएको समेत उनले बताए ।

त्यस्तै आगामी चैत १ देखि ५ गतेसम्म झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोप केन्द्रहरुबाट २४ हजार ५७ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको चम्लागाईको भनाई छ ।